तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: मन्त्रालयगत छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत विविध विषयको छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्री यादवले स्वस्थ जीवनशैली र रोग लाग्दा उपचार हुने सुनिश्चितताका लागि मन्त्रालय तत्पर रहेको, आधारभूत स्वास्थ्य सेवा निःशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा बिमा मार्फत गर्ने रणनीतिका साथ सरकार अघि बढेको बताउनुभयो ।

मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुख्य लक्ष्य बिरामी दर र मृत्युदर घटाउनु रहेको पनि स्पष्ट पार्नुभयो ।  

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन र अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिबद्धताहरू पुरा गर्न आवश्यकताका आधारमा बजेट प्रस्ताव गरेको बताउनुभयो ।

मन्त्री चौधरीले विनियोजन विधेयक माथि सांसदहरूले उठाएका विषयलाई सकारात्मक रुपमा लिएको भन्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अपाङ्ग र लैङ्गिक अल्पसङ्ख्यक लगायतका सबै क्षेत्र समेट्ने गरी बजेट प्रस्ताव गरिएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्तामा एकरुपता कायम गर्ने विषयमा कानुन आवश्यक रहेको औँल्याउनुभएको छ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; अर्थ मन्त्रालय; गृह मन्त्रालय; परराष्ट्र मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; राष्ट्रिय योजना आयोग; उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button