तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तुका लागि कृत्रिम पानी पोखरी निर्माण

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित सिर्जना सामुदायिक वनमा वन्यजन्तुका लागि दुई वटा कृत्रिम पानी पोखरी निर्माण गरिएको छ ।

पानी खोज्दै जङ्गली जनावर बस्ती नपसुन् र तिनीहरूको पानीको आवश्यकता पूरा होस् भन्ने उद्देश्यले दुई वटा कृत्रिम पानी पोखरी बनाइएको हो । जहाँ जङ्गली जनावर आएर पानी खान्छन् ।

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले यी पानी पोखरीले वन्यजन्तुको आहार व्यवस्थापनमा सहजीकरण गर्ने र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग गर्ने बताउनुभयो । “ पोखरी भएपछि जङ्गली जनावरलाई मानव बस्तीमा पानी खान जान परेन, जङ्गलमै सहजरुपमा पानी उपलब्ध भएपछि जनावरले त्यहीँबाट पानी खाएर पर्खने भए”, उहाँले भन्नुभयो, “जङ्गली जनावर पनि सुरक्षित हुने भए अनि मानव बस्तीमा पनि त्रास हुने भएन ।”

एकीकृत भू परिधि व्यवस्थापन आयोजनाले यी पानीपोखरी निर्माण गरिदिएको हो । वन्यजन्तुलाई जङ्गल क्षेत्रमै सहजरुपमा पानी उपलब्ध गराई मानव बस्तीमा वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न कृत्रिम पानी पोखरी निर्माण गरिएको एकीकृत भू परिधि व्यवस्थापन आयोजना कोहलपुर फिल्ड कार्यालय प्रबन्धक प्रकाश थापाले बताउनुभयो ।

एकीकृत भू परिधि व्यवस्थापन आयोजना कार्यान्वयन गर्ने निकाय नेपाल सरकार वन तथा वातावरण मन्त्रालय हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button