तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयक : तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक अन्तर्गत तीन वटा मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल जारी रहेको छ ।

सांसदहरूले अर्थ मन्त्रालयले पुराना ढाँचामा नै बजेट निर्माण र विनियोजन गर्ने गरेको भन्दै बजेट निर्माणको प्रक्रियामा नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । बजेटले अर्थतन्त्रको चुनौती सामना गर्न विकास निर्माण र रोजगारीका अवसर सिर्जना गर्ने गरी पुँजीगत खर्च बढाउनुपर्नेमा सांसदहरूले जोड दिनुभयो ।

सांसदहरूले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने खालका योजना र बजेट आउन नसकेको, स्थानीय तहमा प्रशासकीय अधिकृत परिवर्तन भइरहने पद्धति अन्त्य गर्नुपर्ने र सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा नागरिकलाई सहज रुपमा सेवा प्रवाह हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सङ्घीयता कार्यान्वयनका लागि समन्वय, सहजीकरण र सहयोग आवश्यक रहेको भन्दै तीन करोडभन्दा तलका आयोजनाहरू कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने र त्यसको अनुगमन, मूल्याङ्कन र निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले ठूला विद्युत् आयोजनाहरूको काम बजेटको अभावमा अगाडि बढ्न नसकिरहेको, ट्रान्समिसन लाइनको समयमा निर्माण हुन नसक्दा उत्पादित विद्युत् खेर गइरहेको, त्यसका लागि आवश्यक बजेट व्यवस्था नगरिएको, नीजि क्षेत्रलाई विश्वासमा लिएर काम अगाडि बढाएर लक्ष्य हासिल गर्नेतर्फ सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

सांसदहरूले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा उत्पादन र खपतमा विशेष खालका योजना ल्याउने विषयमा विशेष ध्यान जानुपर्ने, ऊर्जा उत्पादनलाई बढाउने योजना प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

थोरै रकमका साना साना योजनाहरूमा भन्दा पनि पुँजी बजारको हितको लागि काम गर्नुपर्ने,  उत्पादनशील क्षेत्र र आयोजनाहरूका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।

मन्त्रालयगत विभिन्न शीर्षकहरू माथिको छलफलमा सांसदहरु रामहरि खतिवडा, डा. अमरेशकमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्र लिंदेन, रोशन कार्की श्यामकुमार घिमिरेले खर्च कटौती प्रस्ताव पेश गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button