तपाईँ सुन्दै हुनुहुन्छः

धानको बीऊ बचाउन गाग्रीको भर

सल्यान । गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि सल्यानका किसानहरुले धानको बीऊ बचाउन गाग्रीबाट पानी हाल्न थालेका छन् । लामो समयदेखि पानी नपर्दा खोला नाला सुक्दा धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसानहरुले गाग्रीमा पानी बोकेर ब्याडमा सिचाई गर्न थालेका हुन् ।

लामो समयसम्मको खडेरीले कुलोमा आउने पानी नै सुकेपछि शारदा नदीबाट गाग्री बाल्टीमा पानी बोकेर ब्याडमा सिचाई गरिरहेको शारदा नगरपालिका १ की सुन्तली बुढाथोकीले बताउनुभयो । पानी नपर्दा धानको ब्याड सुक्न थालेपछि गाग्रीमा पानी बोकेर ब्याड बचाउनुपरेको उहाँको भनाई छ ।

साँझ बिहान बोकेर पानी हाल्दा पनि आकाशबाट परेको जस्तो नहुने अर्का किसान सरस्वती बुढाथोकीको भनाई छ । ‘अत्यधिक गर्मी छ बोकेर हालेको पानीले के हुन्थ्यो र एकै छिनमा सुकिहाल्छ’ उहाँले भन्नुभयो ।

इनार तथा बोरिङ हुने किसानले इनार तथा बोरिङबाट सिचाई गरी रहेका छन् । सल्यानको प्रमुख शारदा नदी नै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

गर्मीले पानीका मुहान सुक्दै जानु, नदी किनारबाट डिप बोरिङ गरी गाउँमा खानेपानी लैजानु, पानीका मुहान संरक्षणमा ध्यान नदिनु जस्ता कारण पानीको संकट चुलिँदै गएको किसानहरूको भनाई छ । अझै एक हप्तासम्म पानी नपरे धानको ब्याड बचाउन मुस्किल हुने बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button