तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा बढ्दै बेरुजुको चाङ

रुपन्देही । लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दै गएको छ । अहिले १ अर्ब १२ करोड ६३ लाख ४५ हजार बेरुजु रहेका महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत वर्षभन्दा ३१.४८ प्रतिशत बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ । मङ्गलवार प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परीक्षकको कार्यालयले एक वर्षको प्रतिवेदन बुझाएको हो । लुम्बिनी प्रदेशका सरकारी, सङ्घसंस्था तथा स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन बुझाइएको छ । महालेखा परीक्षक कार्यालयका नायव उपमहानिर्देशक घनश्याम पराजुलीले प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई बुझाउनुभयो ।

प्रतिवेदनमा प्रदेशका विभिन्न निकायको विवरण, लेखा परीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखा परीक्षणबाट देखिए‌को समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधारलाई समावेश गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रतिवेदनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहको लेखा परीक्षणबाट देखिएका संक्षिप्त ब्यहोरा समेत समावेश गरिएको छ।

महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदनमा यो वर्ष प्रदेश मन्त्रालय तथा निकाय समेत २६७ (संघीय कार्यालयलाई अख्तियारी दिइएका कार्यालयहरू समेत) को रू ५० अर्ब २ करोड ८२ लाख ११ हजार र २२ समिति र अन्य संस्थाको रु ७ अर्ब ८८ करोड ७७ लाख १८ हजारसमेत रू. ५७ अर्ब ९१ करोड ५९ लाख २९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको ९२०७९.८०० फर्छ्यौट गर्नुपर्ने बेरुजु रू.१ अर्ब १२ करोड ६३ लाख ४५ हजार रहेको छ । लेखा परीक्षणका क्रममा प्रदेश मन्त्रालय र समिति तथा अन्य संस्था समेत २८९ निकायको रू ५७ अर्ब ९१ करोड ५९ लाख २९ को लेखापरीक्षण सम्पन्न गरिएकोमा रू.१ अर्ब १२ करोड ६३ लाख ४६ हजार बेरुजु कायम भएको हो ।

हालसम्मको बाँकी बेरुजुमा प्रदेश सरकारी कार्यालय समिति तथा अन्य संस्थाको लेखा परीक्षणबाट औँल्याइएको बाँकी बेरुजू रु ४ अर्ब २ करोड ९ लाख ६९ हजार रहेको छ । हालसम्मको बाँकी बेरुजु गत वर्षभन्दा ३१.४८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा नीति निर्माण, कानुन तर्जुमा र कानुन कार्यान्वयनमा ध्यान दिन, बजेट व्यवस्थापनमा ध्यान दिन सरकारलाई सुझाएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले हरेक वर्ष बेरुजू बढ्ने विषय सन्तोषजनक नभएको जनाउँदै यस विषयमा आफूले सरकारलाई नियन्त्रणका लागि निर्देशन दिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button