तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको श्रमाधान रोजगार मेला बुटवलमा हुने

रुपन्देही । सरकारले सातै प्रदेशमा आयोजना गर्न लागेको श्रमाधान रोजगार मेला लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेठ २३ र २४ गते श्रमाधान रोजगार मेलाको तयारी गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा तथा निजी क्षेत्रको समन्वयमा २ दिनसम्म हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो ।

मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरूबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उहाँको भनाई छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उहाँको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ ।

मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तीमा ४० वटा स्टल तथा बुथहरू हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी र निजी क्षेत्रका स्टलहरू हुनेछन् ।

श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरूसँग जोड्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणालीमार्फत रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ ।

साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button