तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा हावाहुरीबाट १७ लाखभन्दा बढीको क्षति

सल्यान । सल्यानमा शनिबार साँझ आएको हावाहुरीले १७ लाखभन्दा बढीको क्षति पुर्‍याएको छ ।

शनिबार साँझ आएको हावाहुरीले दुई दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १० घर, १ प्रहरी युनिट, २ विद्यालय, १ स्वास्थ्य चौकी, १ बाख्रा फर्म, १ फर्निचर उद्योग र २ गाई गोठमा क्षति पुगेको छ ।

हावाहुरी घरमा लगाएको जस्तापाता उडाउँदा अन्दाजी १७ लाख ५७ हजार २०० रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।

हावाहुरीबाट कालिकाटी गाउँपालिका–५ दमदुवालीस्थित मददुवाली स्वास्थ्य चौकी छाना उडाउँदा आंशिक क्षति भएको छ । छाना उडाउँदा १ लाख बराबरको क्षति भएको उहाँको भनाई छ ।
यस्तै, कपुरकोट गाउँपालिका १ कार्की गाउँमा रहेको दवन आधारभूत विद्यालयको एक कोठे विद्यालय र कालीमाटी गाउँपालिका २ झिंगाने स्थित सिर्जन शिल माध्यमिक विद्यालयको ४८ वाटको सोलारमा क्षति पुगेको छ ।

सल्यान शारदा नगरपालिका–३ का पुस्कर शाहीको दुई तले घर, शारदा नगरपालिका–१० पैयाँखर्ककी ६८ वर्षीया पार्वती खड्काको फुसको छानामा खेतबारीमा लगाएको आगोको झिल्को आउँदा घरमा आगलागी भएको छ ।

यस्तै सोही ठाउँका ३८ वर्षीय डेर बहादुर विकेको बाख्रा फर्म र फर्निचर उद्योगको जस्ता पाता उडाएको छ । शारदा नगरपालिका–१ सितलपाटीकी ४२ वर्षीया सुन्दरी विकको १ तले कच्ची घर, सिद्ध कुमाख गाउँपालिका–१ मोखलाका केशर वली, विमल बुढाथोकीको घरको जस्ता पाता उडाएको छ ।

कपुरकोट गाउँपालिका १ कार्की गाउँका ३३ वर्षीय निर्मल पुनको दुई कोठे घर, कालीमाटी गाउँपालिका धुल्या बस्ने ७२ वर्षीय मानसिंह बोहराको ५ कोठे घर, घुइयाबारीकी ३८ वर्षीया कृष्णा विकको ४ कोठे घर, सिरेनिका ७१ वर्षीय बल बहादुर चुडाराको ४ कोठे घर, ३५ वर्षीय गोविन्द घर्तीको ४ गोठे घर, हात्तिदमारका ४० वर्षीय फत्ते विकको ४ कोठे घर र ५० वर्षीय रेशम बहादुर गुरुङको ४ कोठे घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाका अन्य स्थानमा पनि क्षति पुगेको र क्षतिको डाटा सङ्कलन गर्ने कार्य भइरहेकाले क्षतिको विवरण अझै बढ्ने सूचना अधिकारी धमलाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button