तपाईँ सुन्दै हुनुहुन्छः

चालक सहचालकलाई नियमित प्रशिक्षणले दुर्घटना न्यूनीकरणमा कमी

रुपन्देही । नेपालमा सवारी दुर्घटनाबाट वर्षेनी करिब २ हजार ८ सय जनाको मृत्यु हुनुका साथै १२ हजार ५ सय जना घाइते हुने गरेका छन् ।

विश्वमा दैनिक ३ हजारभन्दा बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाउँछन् भने वार्षिक २ करोड बढी घाइते हुने गरेको तथ्याङ्क छ । यसरी ठूलो जनधनको क्षति हुने सवारी दुर्घटनाका विभिन्न कारणमध्ये चालकको लापरवाही र हेलचेक्राई प्रमुख हुने गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न नियमित प्रशिक्षण थालिएको छ । बसका चालक, सहचालकहरूलाई पालैपालो ट्राफिक प्रहरी र यातायात क्षेत्रका विज्ञबाट नियमित प्रशिक्षण दिन थालिएपछि लापरबाहीमा केही कमी आउन थालेको हो ।

नियमित रुपमा सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायका प्रतिनिधिहरुको भनाइ छ । दुर्घटना न्यूनीकरण र चालकको व्यवहार परिवर्तन गरी यात्रुमैत्री र जिम्मेवार नागरिक बनाउने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी प्रालिले यातायात मजदुरहरूलाई निरन्तर प्रशिक्षण दिँदै आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले २०६६ सालदेखि नियमित रुपमा सञ्चालन गरेको चालक र सहचालक प्रशिक्षणका कारण सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।

यो अभियानमा प्रमुख प्रशिक्षक रहनुभएकी ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले लापरबाहीकै कारण बढी दुर्घटना हुने गरेकाले त्यसलाई कमी गर्ने मुख्य ध्यान रहेको बताउनुभयो । तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन, ट्राफिक नियम उल्लङ्घन, मोबाइलको प्रयोग, गलत दिशाबाट ओभरटेक गर्ने जस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । ठूलो सङ्ख्यामा मान्छेको जिम्मेवारी लिएर सवारी साधन चलाउने चालकहरूले जिम्मेवार र ईमान्दार भएर आफ्नो यातायात चलाएमा दुर्घटना न्यूनीकरण हुने उहाँको भनाइ छ ।

हालसम्म करिब ८ हजार जना चालक र सहचालकलाई पश्चिम नेपालले प्रशिक्षण दिएको जानकारी दिँदै प्रशिक्षण कार्यक्रमका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्मको प्रशिक्षणले १५ प्रतिशत दुर्घटना कमी आएको बताउनुभयो । प्रशिक्षण लिइसकेपछि व्यवहारमा लागु गरेका छन् कि छैनन् भन्ने बुझ्न प्रा.लि.ले चेकजाँच गर्ने गरेको र लागू नगर्नेलाई आन्तरिक कारबाही गर्नुका साथै नियमित रुपमा सुरक्षित यात्रा गराउने चालकलाई नगदसहित सम्मान र पुरस्कार दिने गरिएको संयोजक घिमिरेले जानकारी गराउनुभयो ।

हरेक महिनामा दुई दिनसम्म सञ्चालन हुने तालिम यो महिना बिहीबार र शुक्रबार भएको हो ।

प्रशिक्षणमा पश्चिम नेपाल बस प्रा.लि.का सञ्चालकहरू मोहन पिएस, जितेन्द्र खत्री, नारायण भण्डारी लगायतले सवारी दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका साथै प्रा.लि.लाई बस मालिक, चालक र सहचालक सबैको साझा संस्था बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण मात्र नभै चालक तथा सहचालकहरूको हकहित संरक्षणका लागि २२ लाखसम्मको बिमा लगाएतका सुविधाहरू समेत व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ थियो ।

समितिले अब यसरी तालिममा नबसेका चालक र सहचालकलाई योग्य नठान्ने भएकाले पनि अहिले यसप्रति चासो बढेको हो । यो तालिममा बसेकाहरूलाई दिइने कार्ड ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्ने र नभए जरिवाना गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button