तपाईँ सुन्दै हुनुहुन्छः

रानीतलाउ जीर्ण बन्दै, मर्मत सम्भार गरी सञ्चालन गर्न स्थानीयको माग

बाँके । नेपालगन्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा जीर्ण बनेको हो । 

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य, डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । 

पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय वडा नं. ८ का पूर्व वडा अध्यक्ष सुरेन्द्र गुप्ताले बताउनु भयो । उहाँ भन्नुहुन्छ, “नेपालगन्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जान थालेको छ, बहुत दुःख लागेको छ, नेपालगन्ज शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको दुरदसा हेर्दा लज्जित महसुस गरेको छु ।” 

सौन्दर्यीकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदो रहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । 

नेपालगन्जको इतिहास बोकेको दुईसय वर्ष पुरानो रानीतलाउमा संरक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानितलाउको जिर्णेद्धारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्रय पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउन छोडेका छन् । 

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँको रुपमा परिचित रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तलाउ घुम्न आउने पर्यटकको सङ्ख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटी लगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । स्थानीयहरूले संरक्षणको अभावमा जीर्ण बन्दै गएको रानी तलाउको संरक्षण गर्नुपर्ने भनाई राखेका थिए । 

राज्य पुनर्संरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले तलाउलाई जिर्णेद्धार गरेका थिए । सरसफाईको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय युवा अजिज सिद्धिकिले बताउनु भयो ।

२०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं. ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन गर्‍यो । वडा कार्यालयका अनुसार सो अवधिमा रु ६ लाख कमाइ भयो । शुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिब चार महिनामा रु ६ लाख आम्दानी भएको थियो ।  

१० लाखबाट शुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर शुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको थियो । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति नदेखिएको वडाका कर्मचारी सुदेश केसीले बताउनु भयो । 

सुरुवाती चरणमा करिब दुई बर्ष मात्रै तलाउ राम्रै सञ्चालनमा आएपनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोना पश्चात् तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसंम्भार गरेर पुनः पहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगन्जका उपमेयर कमरुद्दिन राईले बताउनु भयो । 

रानी तलाउमा सरसफाईको कमी, तालको फोहर पानी, जीर्ण बन्दै गएको र बालबालिका खेल्ने सामग्री तथा पर्यटन प्रवर्द्धनको कमीका कारण पर्यटकहरूको सङ्ख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप आर्कषण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियमित मर्मत सम्भार गरी सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button