तपाईँ सुन्दै हुनुहुन्छः

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

काठमाडौँ । बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । 

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ । भिडियोमा स्टेजबाट भाग्दै गरेका मानिसहरूलाई कैद गरिएको छ । 

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा  वर्णन गर्नुभयो । 

पीडितका आफन्तहरुले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।  

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेदवार लोरेनिया क्यानावतीका लागि चुनावी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेदवारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button