तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बारको सम्मेलनको सम्पूर्ण तयारी पुरा 

काठमाडौँ । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ ।

आज नेपाल बार एशोसियसनको सभाहलमा पत्रकार सम्मेलन मार्फत सम्मेलनको सबै तयारी पुरा भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

नेपाल बार एशोसियसनले यही जेठ ४, ५ र ६ गते ‘सक्षम कानून व्यवसायी, मर्यादित बार: न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने मूल नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्मेलनको आयोजना गर्दै छ । राष्ट्रपति रामचन्द्र पाैडेलकाे प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन हुने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमेत विशिष्ट अतिथिको रुपमा सहभागी हुने घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बार एशोसियसन (आईविए) का महासचिव, इन्डियन बार एशोसियसनका अध्यक्ष समेत सहभागी हुने अध्यक्षले बताउनुभयो । सम्मेलनमा देशभरका करिब चार हजारभन्दा बढी कानुन व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा न्यायपालिकाको सुधार बारे समितिले पेश गरेको प्रतिवेदनबारे समेत अध्यक्ष घिमिरेले जानकारी गराउनु भयो । वीरगंजमा भएको अधिवेशनबाट न्यायपालिकाको पुनर्संरचना गर्नको लागि प्रतिवेदन बनाउन नौ सदस्यीय समिति बनाएको थियो । साथै समितिले सातै प्रदेशमा पुगी त्यसबारे सुझाव सङ्कलनसमेत गरेको थियो । समितिले हिजो नेपाल बारमा प्रतिवेदन बुझाएको थियो ।

सम्मेलनमा न्यायपालिका सुधार सम्बन्धी विभिन्न विषयमा कार्यपत्रहरू छलफलका लागि समेत पेश हुने र बृहत् रुपमा सहभागीहरू बीच छलफल भई निष्कर्ष निकाल्नेसमेत घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल बारका उपाध्यक्षहरू, महासचिवलगायत पदाधिकारीहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button