तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । 

कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावारतर्फ अधिक छन् । 

दुई सय ७८ उद्योग खारेज

चालु आवमा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् ।आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन भएको  छ । उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् । 

चट्याङपीडितलाई सहयोग

यसैबीच, देवघाट गाउँपालिका–४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब रु दुई लाख बराबरको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button