तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम महिलाहरूलाई समाजमा समान स्तर र भरोस दिनु पर्छ : अध्यक्ष समिम मियाँ

बाँके । मुस्लिम महिलाहरूलाई समाजमा समान स्तर र भरोसा नदिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो । उहाँले महिलालाई इस्लामले उच्च स्थान दिएको बताउँदै मुस्लिम महिलाहरूलाई अवसरबाट वञ्चित गर्न नहुने धारण राख्नु भयो । 

मुस्लिम आयोगद्वारा नेपालगन्जमा बिहीबार आयोजित मुस्लिम महिलाहरूको सशक्तिकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष मियाँले संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता,समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोग गठनपछि मुस्लिम समुदायको हक हितको संरक्षण संवर्द्धन तथा सशक्तीकरणको क्षेत्रमा धेरै काम गरेको बताउनु भयो ।

उहाँले महिला सशक्तीकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तर सम्म धेरै प्रयास भएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा पहुँच बढेकाले महिलाको अवस्था सुधारिएको छ । यो परिवर्तनले उनीहरूको जीवन तुलनात्मक रुपमा सहज बनाएको बताउनु भयो । 

अध्यक्ष मियाँले पुरुष प्रधान समाजको प्रभुत्व अझै कायम रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेको बताउँदै उहाँले महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी रहेको जिकिर गर्नु भयो । उहाँले घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिला अधिकारबाट बञ्चित हुनुपरेको धारण राख्नु भएको थियो ।

‘बच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा मार्ने कार्यमात्रै महिलालाई सीमित राखिएको छ,’ अध्यक्ष मियाँले भन्नुभयो, ‘महिला–पुरुष बराबरी भन्ने गरिन्छ, महिलालाई घरको चार दिवारीमा राख्ने कार्यले बराबरीको हक कायम हुँदैन ।’ उहाँले नेपालमा महिला राष्ट्रपति र प्रधान न्यायाधीश बनी सकेको उदाहरण दिँदै अब मुस्लिम महिलाहरूलाई यो देशको राष्ट्रपति, प्रधानमन्त्री र सरकारको उच्च पदमा नियुक्ति हुन शिक्षा तर्फ जोड दिन आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले कार्यक्रमको सहजीकरण गर्दै भन्नुभयो,महिलालाई राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा संलग्न गराउनु आवश्यक रहेको बताउनु भयो । उहाँले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने कुरा देखाउनका लागि महिलाले पनि अधिकारका लागि अघि सर्नुपर्ने जिकिर गर्नु भयो । मोहनाले हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्यास हुँदै इन्डक्सनमा पकाउन थालेको बताउँदै उहाँले यसले लैङ्गिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन नसकेको दाबी गर्दै यसले जागिरे वा कामकाजी महिलामा अझ कार्यबोझ थपिएको बताउनु भएको थियो ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, आयोगका सदस्य शम्सुल हक, महमदिन अली, सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईको सहभागिता रहेको कार्यक्रमको सहजीकरण मोहना अन्सारीले गर्नु भएको थियो भने बाँके जिल्लाका एक सय जना मुस्लिम महिलाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button