तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा औद्योगिक मेला हुने

धनकुटा । जेठको दोस्रो साता धनकुटामा प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१ हुने भएको छ । जेठ ९ गतेदेखि १३ गतेसम्म धनकुटाको औद्योगिक ग्राममा मेला तथा फेष्टिबल आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताउनु भयो ।

मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार ३० वटा स्टल रहने तथा २० हजार आन्तरिक पर्यटकले अवलोकन गरेर २ करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ। धनकुटामा निर्माण भएको औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेपछि मेलाको आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताउनु भयो। मेलामा घरेलु कार्यालयको १० लाख रुपैयाँ सहयोग रहेको अन्य स्रोत जुटाउने काम भइरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button