तपाईँ सुन्दै हुनुहुन्छः

पुनःनिर्माण गरेर पार्टी जोगाउनुपर्ने अवस्था आएको छ : उपसभापति खड्का

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सञ्चालनमा भएका गम्भीर कमजोरी स्वीकार गर्दै आफू सच्चिन तयार भएको बताउनुभएको छ । नेपाल मुस्लिम संघ लुम्बिनीको प्रथम सम्मेलनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै उहाँले भएका कमजोरी स्विकार्दै पुनःनिर्माण गरेर पार्टी जोगाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

‘हामीले उठाएका विषयप्रति, सिद्धान्तप्रति प्रश्न कतै उठेको छैन मात्रै नेतृत्वको विषयमा आलोचना खबरदारी भएको छ, यो सच्चाउन सकिन्छ । कांग्रेसको सिद्धान्तमा बहुसङ्ख्यक नेपालीहरू सहमत छन् तर हामीले त्यसलाई सहज ढंगले चलाउन नसकेको प्रष्ट हो’ खड्काले भन्नुभयो ।

नेता खड्काले मतदाता र काँग्रेसबिचको दुरी बढेर गएको प्रष्ट पार्नुभयो । ‘मैले र हामीले त्यो जिम्मेवारी पूरा गर्न सकेनौ, जनताको गुनासो काँग्रेससँग बढी भएको भरोसाका कारण हो, विश्वासका कारण हो भनेर बुझौँ’ उहाँले भन्नुभयो ।

संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा प्रदेशलाई समस्या भएको र सङ्घीयताको विपक्षमा प्रश्न उठाउनेलाई बल पुगेकाले यसलाई छिटो समाधान गरिनुपर्ने उहाँको भनाइ थियो ।

उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ थियो ।

शान्ति प्रक्रियाका काम पूरा गर्न र संविधान कार्यान्वयन नेपाली कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button