तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता छ : मुख्यमन्त्री महरा

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयको आयोजनामा आजदेखि सुरु भएको राष्ट्रिय योग्यता प्रारूप तथा अनौपचारिक शिक्षाको पाठ्यक्रम सम्बन्धि प्राधिकरण र लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१–८२ को शैक्षिक नीति तथा कार्यक्रम सम्बन्धि छलफलको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री महराले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा क्रमागत नभई परिणाम दिने गरी परिवर्तन होस् भन्ने पक्षमा प्रदेश सरकार रहेको छ ।’ उहाँले स्थानीय सेवा ऐन विधेयक संसद्को आगामी अधिवेशनमा पेश गरी पारित गर्ने विश्वास दिलाउनुभयो । 

सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले वर्तमान चुनौतीको सम्बोधन गर्न सक्ने गरी शिक्षा क्षेत्रमा परिवर्तनको जरुरी भएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएको उल्लेख गर्नुभयो । मन्त्री खत्रीले भन्नुभयो, ‘सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी बढाउँदै जाँदा पनि ती विद्यालय किन सुक्न थालेका छन् रु यसतर्फ सबै पक्ष गम्भीर बन्न आवश्यक छ ।’ उहाँले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकासमा मात्रै जोड नदिई सामुदायिक तथा सामाजिक पूर्वाधार विकासमा मन्त्रालयले अबदेखि जोड दिने बताउनुभयो । विद्यालय कम र विद्यार्थी धेरैको अवधारणा अनुसार प्रदेश सरकार अघि बढ्ने उहाँको भनाई छ ।

मन्त्री खत्रीले वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको बताउनुभयो । भोलिसम्म सञ्चालन हुने कार्यक्रममा मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button