तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकामा जुम्ला पहिचान झल्काउने काठेसाँघु निर्माण

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं ४ चिउडीमा निर्माण गरिएको परम्परागत साँघु (कलात्मक काठे पुल)उद्घाटन गरिएको छ । बुधबार एक भव्य कार्यक्रममा बीच चिउडीमा नवनिर्मित काठेपुल उद्घाटन गरिएको हो ।

उक्त काठेपुल ०७९ सालको बेमौसमी वर्षाले बगाएको थियो । त्यसपश्चात् काठेपुल निर्माण गरिएपनि प्रधानमन्त्री, राष्ट्रपति लगायतका मूर्ति राखेपछि विवाद भएको थियो । 

विवाद भएपछि ती मूर्तिहरू हटाएर नेपाली पोशाक लगाएका महिला पुरुष, भगवान्, सुरक्षाकर्मी लगायतको मूर्ति बनाइएको छ ।  काष्ठकलाबाट निर्मित काठे पुल (साँघु)ले जुम्लाको ऐतिहासिक महत्व पनि झल्काएको छ । आधुनिक विकास क्रमसँगै जुम्लामा काठे पुल लोपोन्मुख अवस्थामा छन् । 

बाढी पहिरोले भत्किएका,बगाएका अधिकांश साँघुहरू क्षतविक्षत अवस्थामा छन् । तर हिमा गाउँपालिकाले ऐतिहासिक महत्व बचाउन र पहिचान झल्काउन कलात्मक काठेपुल निर्माण गरेको हो ।

नेपालकै उत्कृष्ट पर्यटन गन्तव्य रारा जाने सडक नाग्म गमगढी सडकको प्रवेशद्वारमै पर्ने चिउडीमा निर्माण भएको काठे पुलले पर्यटकलाई आर्कषण गर्ने अपेक्षा गरिएको छ ।  

काठेपुलमा ठड्याइएका सबै मूर्तिहरू हिमा गाउँपालिका–४ का कालो तिरुवाले निर्माण गरेका हुन् । उनलाई हिमा गाउँपालिकाले सम्मान पनि गरेको थियो । भने आवश्यक सामान खरिदका लागि पालिकाले एक लाख रुपैयाँ समेत सहयोग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button