तपाईँ सुन्दै हुनुहुन्छः

विसं २०७२ सालको महाभुकम्पको सम्झना

काठमाडौं। नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो । सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनाएको थियो ।

त्यसबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो । धरहरा, बसन्तपुर ढल्यो । गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो । महाभुकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए ।

झण्डै पाँच लाख घरहरु क्षति भए । हजारौंको संख्यामा विस्थापित बने । ८ हजार बढि विद्यालयका भवनहरु भत्किए, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर-भवनहरु भत्किदाँ करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु पर्‍यो ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

वि.सं २०७२ साल वैशाख १२ गतेको भुकम्पले व्यापक जनधनको क्षति गरेपछि शुरु गरिएको पुनर्निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क अनुसार, लाभग्राहीको संख्या ८ लाख ६८ हजार १ सय ४० रहेको छ ।

गोरखा भूकम्पले दिएको पीडा कसैले बिर्सन सक्दैनन् । त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औँ स्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । बेलाबेलामा स-साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button