तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक विकासको सवालमा नीतिको अभाव : मुख्यमन्त्री जम्कट्टेल

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भौतिक पूर्वाधारको विकासको सवालमा नीतिको अभाव भएको बताउनु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ स्थित कुविण्डे खोलामा नवनिर्मित मोटरेवल पुलको उद्घाटन पश्चात् मुख्यमन्त्री जम्कट्टेलले नीति अभावकै कारण समानरुपमा विकास हुन नसकेको बताउनुभयो ।

उहाँले नीति अभावकै कारण शहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रमा कम विकास भएको भन्दै बागमती प्रदेश सरकारले नीति बनाएरै नै विकासका कार्यक्रमहरू अगाडि बढाउने बताउनुभयो । सरकारले प्रादेशिक सडक नीति बनाउँदै गरेको जानकारी दिँदै मुख्यमन्त्री जम्कट्टेलले पहुँच र पावरको भरमा विकास बाँड्ने चलनको अन्त्य हुने दाबी पनि गर्नुभयो ।  

हरेक जिल्लाको विकास निर्माणको अवस्था र आवश्यकतालाई अध्ययन गर्दै समानरुपमा बजेट विनियोजन गर्दै नीति अनुसार कसैको पहल र पावरविना नै विकास हुने उहाँको भनाइछ । आगामी सात आठ वर्षभित्र बागमती प्रदेशभित्रका १० जिल्लाका हरेक पहाडी र दुर्गम क्षेत्रमा सडक पहुँच पुग्नका साथै स्तरोन्नति हुने मुख्यमन्त्री जम्कट्टेलको दाबी थियो ।

उद्घाटन सभालाई सिन्धुपाल्चोक क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा, नगरप्रमुख कृष्णप्रसाद सापकोटा लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो ।

पुल बनेपछि स्थानीय खुशी 
चौतारा साँगाचोकगढी नगरपालिकाभित्रको कर्णाली भनेर चिनिने वडा न ३ का स्थानीयहरू पुल बनेपछि भने खुशी भएका छन् । सदरमुकाम चौतारा र वडा न ३ लाई सडक सञ्जालबाट जोड्नका लागि कुविण्डे खोलामा पुल नहुँदा स्थानीयहरूले वर्षौँदेखि सास्ती झेल्दै आएका थिए । 

सामान्य स्वास्थ्य सेवा पाउनका लागि पनि घण्टौँ पैदल हिँडेर सदरमुकाम चौतारा पुग्नु पर्ने बाध्यता रहँदै आएको थियो । तर पुल निर्माण भएपछि भने स्थानीयले सहजताको अनुभव गर्न थालेका छन् । स्थानीय मानकुमारी थापाले पुल बनेकोमा आफू अत्यन्त खुशी भएको बताउनुभयो । गाउँको उत्पादन बजारमा जाने मात्र हैन, बिरामी पर्दा आफ्नै आँगनमा एम्बुलेन्स आउने भएकोले पनि आफूलाई पुल बन्दा निकै खुशी लागेको उहाँको भनाइछ । 

पुल बनेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा न २ र ३ का स्थानीय मात्र लाभान्वित भएका छैनन्, सदरमुकाम चौतारा आवतजावतका लागि जुगल गाउँपालिकाका स्थानीयलाई पनि यो सडक सहज र सटिक भएका कारण लाभान्वित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button