तपाईँ सुन्दै हुनुहुन्छः

सुप्रिम सहकारीको १ अर्ब रकम अपचलन गर्ने २८ जनाविरुद्ध मुद्दा दर्ता

रुपन्देही । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा मुख्य आरोपी जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

यसअघि २ महिना लामो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई रुपन्देही प्रहरीले बुझाएको थियो । सोमबार जिल्ला अदालतमा दर्ता भएको मुद्दामा सहकारीका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाएको र उनीहरूको विषयमा मङ्गलवारदेखि नै बहस अगाडि बढ्ने अदालतका सूचना अधिकारी अनन्त मरासिनीले बताउनुभयो । 

प्रहरीले १ अर्ब २ करोडको बिगो मागदावी गरेपनि अदालतले भने ९८ करोडको मागदावी गरेर मुद्दा दर्ता गरेको छ ।  उक्त सहकारीको बचत हिनामिना सम्बन्धि अनुसन्धान सकेर प्रहरीले गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीमा प्रतिवेदन बुझाएको थियो ।

बचत हिनामिना प्रकरणमा पक्राउ परेका पाँचसहित २८ जनालाई प्रतिवादी बनाइएको हो । बचतकर्ताले आफ्नो बचत रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । सुप्रिमको बुटवलमा मुख्य कार्यालय रहेकाले बचत हिनामिनाको इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । उक्त सहकारीको बचत रकम हिनामिना आरोपमा ओखलढुङ्गा घर भएका राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्न आरोपित २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जनाउनुभयो ।  प्रहरीले अहिलेसम्म सुप्रिमको रकम हिनामिना प्रकरणमा उक्त सहकारी अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्व कोषाध्यक्ष पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ । उनीहरूमाथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान गरेको थियो ।

प्रहरीले पक्राउ परेका ५ जना बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको जनाएको थियो र सोमबार दर्ता भएको मुद्दामा पनि त्यसैलाई आधार बनाइएको छ । पूर्व उपराष्ट्रपतिका छोरा पुन गत चैत २ मा काठमाडौँबाट पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो । अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् ।

प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सहकारी हिनामिनामा जोडिएका संस्थाका अध्यक्ष गुरुङसहित पदाधिकारीमाथि अनुसन्धानका लागि प्रहरी सहकारी र कम्पनी रजिष्टार कार्यालयबाट विज्ञ र सीआइबीका अनुसन्धान अधिकृतको सहायता लिएको जनाएको छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button