तपाईँ सुन्दै हुनुहुन्छः

उपाधिका लागि मच्छिन्द्र र पुलिस भिड्दै

बारा । जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमबार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् ।

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैटौँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो ।

सोमबार राती सिमरा रङ्गशालाको फ्लड लाइटमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति उत्साहजनक रूपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button