तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा आजदेखि सुरु भएको छ । भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।

भैरवनाथको पूजा सुरु भएसँगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको हो । तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।

बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको थियो ।

लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्‍याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्‍याएपछि पहिलो दिनको रथयात्रा बिसर्जन गरिन्छ ।

चैत्र मसान्तमा इन्द्र ध्वजा सहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरेको भनाई छ । यो लिङ्गो भक्तपुरको चित्तपोल स्थित सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाको बली चढाइ सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ । लिङ्गोमा राख्ने ध्वजा एक जोडी र लिङ्गो ठड्याउने आठ वटा डोरी रहेको हुन्छ, जसमा अष्ट मातृका गण अंकित हुन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुसीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलान्चोक लगायतबाट सयौँ मानिसहरू आउने गर्दछन् ।

बिस्का जात्रा शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली गरिएको छ । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button