तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडालाई पन्छाउँदै एपिएफ सेमिफाइनलमा

बारा । बाराको सिमरामा जारी जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा भएको दोस्रो क्वाटर फाइनलमा मकवानपुर ११ हेटौँडालाई २–० गोल अन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जीतमा विके तामाङ र प्रदीप लामाले एक–एक गोल गरेका थिए ।

हेटौँडा विरुद्ध सुरुदेखि नै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औँ मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाउनुभयो । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौँडाका डिफेन्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८ औँ मिनटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदीप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पार्नुभयो । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए ।

दोस्रो हाफमा एपिएएफ विरुद्ध केही राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौँडाको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौँडाका उत्कृष्ट प्रहारहरू विफल पारेका थिए ।

खेलको म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित हुनुभयो । उहाँले १० हजार नगद र ट्रफि प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button