तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक विभेदलाई चित्रकला मार्फत उजागर गर्दै बालबालिका

बाँके । बाँकेका मधेशी तथा मुस्लिम बाहुल्यता रहेको ग्रामीण बस्तीमा विद्यमान लैङ्गिक विभेदलाई सामुदायिक विद्यालयका विद्यार्थीद्वारा चित्रकला मार्फत उजागर गरिएको छ ।

ब्रिटिस काउन्सिलको आर्थिक सहयोग तथा फातिमा फाउण्डेशन नेपालगञ्जको आयोजनामा नेपालगञ्ज–१५ जयसपुर तथा जानकी गाउँपालिका–३ को बन्जारे गाउँ र इन्द्रपुरमा रहेका तीन सामुदायिक विद्यालयका विद्यार्थी तथा किशोर किशोरी क्लबका प्रतिनिधिले समुदायका किशोरीले भोग्नु परेको विभेदलाई चित्रकला मार्फत उजागर गरेको फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकिले बताउनु भयो ।

उहाँले भन्नुभयो‘ मधेशी मुस्लिम बाहुल्यता भएको ग्रामीण बस्तीमा अझैपनि लैङ्गिक विभेदको कुरुतीले जरो गाडेको छ । त्यसको अन्त्यका लागि जसको मुद्दा उसैको पैरवी भन्ने उद्देश्यले जहा समस्या छ त्यहीका बालबालिका किशोर किशोरीलाई चित्रको माध्यमबाट उजागर गर्न प्रयास गरेका छौ ।’

बाँकेको जयसपुर, ईन्द्रपुर र बञ्जारेगाउ मधेशी मुस्लिम समुदाय बाहुल्यता गाउँ हुन । अझैपनि ती गाउँहरूमा लैङ्गिक विभेदको प्रशस्त उदाहरण भेटिने भएकोले आफूहरूले ती गाउँ छनौट गरिएको अध्यक्ष सिद्धिकिले बताउनु भयो ।

दुई दिनसम्म सञ्चालन भएको चित्र कोर्ने कार्यको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले समुदायका बालक र बालिका बीच गरिने भेदभावको विरुद्ध सचेतनामुलक सन्देश दिने चित्र कोरेको प्रति बालबालिकाहरूलाई बधाई दिँदै ती चित्रहरूलाई नगरपालिकाले प्रकाशन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले  समाजमा रहेको विभेदको खाडलको अन्त्यका लागि खुलेर लाग्न बालबालिकाहरूलाई अपिल गर्दै केही समस्या परे सहयोग गर्न आफू तयार रहेको जिकिर गर्नु भएको थियो । 

बाँकेका ग्रामीण बस्तीहरूमा अझै पनि छोरा र छोरीको बीचको विभेद कायमै रहेको कारण सबैको प्रयासबाट यस्ता कुरुती हटाउन आवश्यक फाउण्डेशनका अध्यक्ष सिद्धिकीको भनाई थियो । चित्रकलामा सहभागीहरूलाई मेयर बिष्टले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button