तपाईँ सुन्दै हुनुहुन्छः

‘जून ओर्लेको रात’ बजारमा

गण्डकी । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । 

पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । 

कविता सङ्ग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ वटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उहाँ भन्नुहुन्छ,

“मेरो छोरो

सन्तुलित आहार पढ्छ किताबमा

र भान्छामा

असन्तुलित आहारा खान्छ ।

मेरी छोरी 

पढ्छे शारीरिक व्यायाम

तर

सुत्छे घाम तन्नेरी भएसम्म ।।”

कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुनुहुन्छ । 

पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button