तपाईँ सुन्दै हुनुहुन्छः

पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज

सुर्खेत । पश्चिम सुर्खेतको घाटगाउँ–गुटु सडकखण्डको झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । 

कर्णाली प्रदेश सरकारको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो । झ्यानझ्याने खोलामा पक्की पुल निर्माण भएपछि घाटगाउँ–गुटुको दुरी समेत छोटिएको छ । अन्तरप्रदेशीय सडकका लागि महत्वपूर्ण मानिएको घाटगाउँ–गुटु खडकखण्डको झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि चार किलोमिटर दुरी छोटिएको हो । 

पुल बनेपछि अहिले त्यस क्षेत्रका सर्वसाधारणलाई चौकुने गाउँपालिका केन्द्र ‘गुटु’ पुग्न  सहज भएको छ । यसअघि घाटगाउँदेखि चौकुने गाउँपालिकाको केन्द्र पुग्न झ्यानझ्याने खोलाको गहिरो खोँच पार गर्नका लागि चार किलोमिटर समय खर्चिनु पर्ने बाध्यता थियो । 

झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि दुरी छोटो मात्र होइन, कुईने, तातापानी, घाटगाउँदेखि अब सिधै चौकुने गाउँपालिका केन्द्र ‘गुटु’ पुग्न सहज भएको छ । करिब ९ करोड लागतमा निर्माण भएको पक्की पुलको लम्बाई ६१.५० मिटर रहेको छ । निर्माण ठेकेदार कम्पनी अनक कन्सटेक्सनले तोकिएको समय भन्दा १७ महिना पहिले नै पुल निर्माण गरी कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयलाई हस्तान्तरण गरेको हो । 

तोकिएको समयभन्दा पहिले नै पुल निर्माण गरेबापत कुल लागतको १० प्रतिशत अतिरिक्त रकम निर्माण कम्पनीलाई उपलब्ध गराइएको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले बताउनु भयो । उहाँले अनक कन्सटेक्सनले २०७८ कार्तिकमा सम्झौता गरि २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको भएपनि २०७९ माघ मसान्तमै पुल निर्माण गरी निर्देशनालयलाई हस्तान्तरण गरेको जानकारी दिनु भयो । 

सवारी साधनसँगै पैदल यात्रुका लागि झ्यानझ्याने खोलाको सिरानदेखि घुम्दै जानु पर्ने बाध्यता अन्त्य भएसँगै विकासका नयाँ सम्भावनाको ढोका खुलेको गुटुका समाजसेवी काशीराम जैसी देवकोटाले बताउनु भयो । उहाँले सडक स्तरोन्नतिको क्रममा रहेको कैलालीको चिसापानी–सुर्खेतको घाटगाउँ–गुटु हुँदै अछामको मङ्गलसेन जोड्ने फास्ट ट्याकलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नु भयो । उहाँका अनुसार घाटगाउँको चिप्ले र झ्यानझ्याने खोलामा पक्की पुल निर्माण भएसँगै अब साल्मदेखि जंगलाघाटसम्मको ट्र्याक खुलेपछि सुर्खेत अछामसँग सजिलै सडक सञ्जालसँग जोडिनेछ । 

जंगलाघाटदेखि उता अछाम खण्डमा दश वर्ष पहिलेदेखि नै सवारी साधन गुडिरहेका छन् । यता घाटगाउँ–गुटु–साल्म सडकको १३ किलोमिटर खण्डको ठेक्का भई कालोपत्रे गर्ने कार्य अघि बढिसकेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरि शर्मा धितालले जानकारी दिनु भयो । उहाँले चालु आर्थिक वर्षभित्रै कालोपत्रे कार्य शुरु गर्नका लागि निर्देशनालयबाट निर्माण कम्पनीलाई कार्यादेश जारी भइसकेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button