तपाईँ सुन्दै हुनुहुन्छः

राससका कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

नवलपरासी । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार धर्मेन्द्र झाद्वारा लिखित कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोटमा आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याल लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

मिथिला नाट्यकला परिषद्द्वारा प्रकाशित कविता सङ्ग्रहभित्र विभिन्न शीर्षकका ५१ रचना समावेश गरिएका छन् । कार्यकारी अध्यक्ष झाले विसं २०४७ देखि २०६७ सम्मको अवधिमा लेखिएका रचना कविता सङ्ग्रहमा समावेश गरिएको जानकारी दिनुभयो ।

पुस्तक प्रकाशन भएको करिब छ महिनापछि वरिष्ठ पत्रकार र मानवअधिकार कर्मीको बीचमा पुस्तक सार्वजनिक हुनु महत्त्वपूर्ण भएको उहाँको भनाइ थियो । “दुई दशक समयको रचना एउटै शीर्षकमा लेखिएको यो पुस्तक मैथिली साहित्यमा मात्रै नभएर सम्भवतः नेपाली साहित्यमा नै पहिलो हुनसक्छ”, उहाँले भन्नुभयो, “देशको केन्द्रमा पर्ने नवलपुरले नेपालको सबै भागलाई जोड्ने भएका कारण यस ठाउँलाई पुस्तक लोकार्पणका लागि छनोट गरिएकाे हो ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य डा योगेन्द्रप्रसाद यादव, वरिष्ठ कवि तथा सञ्चारकर्मी डा नवराज लम्साल र मैथिली कवयित्री विभा झाले कविता सङ्ग्रहमा भूमिका लेख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button