तपाईँ सुन्दै हुनुहुन्छः

एकै पटक रोपियो ७ हजार बढी स्याउका बिरुवा

बाजुरा । बाजुरामा एकै पटक सात हजार बढी स्याउका बिरुवा रोपिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सय बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्र बाजुरा को बृहत् विशेष उत्पादन कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा ७ हजार ३ सय बोटको करिब २५ हेक्टरमा एउटै क्लष्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रसाद जैशीले बताउनुभयो ।

सोही स्थानमा आगामी वर्ष थप ७ हजार सात सय बोट थप गरि पन्ध्र हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुखले जैशीले बताउनुभयो । सोही बृहत् स्याउ बगैँचाबाट अबको ५/६ वर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्विन्टल स्याउ उत्पादन भई किलोको रू। एक सय का दरले बिक्री गर्न सकेमा करिब ४ करोड ५० लाख रकम ती १ सय १५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ ।

अँगाउपानी (काँध) मार्तडी–कोल्टी सडकको आसपासको क्षेत्र भएकोले कृषि पर्यटन मार्फत निकै नै लाभ लिन सकिने र या क्षेत्र स्याउ उत्पादनका लागि उपयुक्त भएकाले कृषि ज्ञान केन्द्र बाजुरा को बृहत् विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागिएको बुढीनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।

बृहत् स्याउ बगैँचा स्थापनाका लागि बृहत् विशेष उत्पादन क्षेत्र सञ्चालक समिति, हरित स्वयंसेवक, वडाध्यक्ष लगायत जनप्रतिनिधि, कृषि विकास शाखा बुढीनन्दा लगायत स्थानीय कृषकलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।

बाजुरामा गत वर्ष उत्पादन भएको मध्ये २० लाख बराबरको स्याउ धनगढी, नेपालगञ्ज लगायतका विभिन्न शहरमा निर्यात भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button