तपाईँ सुन्दै हुनुहुन्छः

हतकडीसहित भागेका थुनुवा पक्राउ गर्न खोज्दा लडेर प्रहरी जवानको मृत्यु

दार्चुला  । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न खोज्दा लडेर एक प्रहरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेश सिंह कुँवर हातमा हतकडी लगाएकै अवस्थामा भागेका थिए । जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हतकडीसहित हाम फालेर भागेका थुनुवा कुँवरलाई प्रहरी जवान चौधरीले रोक्न खोजेका थिए ।

पछाडिबाट हाम फालेका कुवरसँगै हुत्तिएर लडेका प्रहरी जवान चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको जिल्ला अस्पताल दार्चुलामा पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो । 

प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ ।

गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमती धनिसा कुवरलाई बन्धक बनाएर हिंसा गरेको भन्दै उजुरीपछि प्रहरीले उनलाई सोधपुछको लागि लैजाने क्रममा प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लागेको थियो । 

कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button