तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको गठबन्धन राष्ट्रको हितमा छ : पूर्व उपप्रधानमन्त्री पोखरेल

डडेल्धुरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको राजनीति मूल ‘ट्र्याक’मा आएको बताउनुभएको छ ।

नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि बैतडीका जाने क्रममा आइतबार डडेल्धुरामा आयोजित कार्यकर्ता भेटघाटमा नेता पोखरेलले अहिलेको गठबन्धन राष्ट्रको हितमा रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरूको विघटनले जनतामा निराशा छाएको बताउनुहुँदै पोखरेलले ‘राजनीतिले गलत दिशा लिँदा मुलुकमा संकट पैदा भएकाले ‘ट्र्याक’ छाडेको राजनीतिलाई मूल ‘ट्र्याक’मा ल्याउने काम भएको उल्लेख गर्नुभयो ।

अब जनतालाई विश्वास दिलाउने र स्वाधीनताको आन्दोलनको अभियानलाई अघि बढाउने काम गर्नुपर्नेमा जोड दिनुहुँदै नेता पोखरेलले पार्टी सङ्गठनलाई व्यवस्थित, अधिवेशनबाट सक्षम नेतृत्व चयन गर्नेदेखि जनजीविकाका सवालमा पार्टी पङ्क्ति एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

भोलि २८ गते एमाले बैतडीको ९ औँ जिल्ला अधिवेशनको उद्घाटनका लागि पोखरेल आजै बैतडी प्रस्थान गर्नुभएको छ भने उहाँले २९ गते नेकपा एमालेको डोटी जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button