तपाईँ सुन्दै हुनुहुन्छः

जहाँ बजार अभावले स्याउसँग खुर्सानी साटिन्छ

बाजुरा । बढिनन्दा नगरपालिकाको वडा नं. ९ आंगाउँपानी बाजुराको उच्च हिमाली भेगमा पर्छ । उत्तर पूर्वी मोहडामा फैलिएको साबिकको पाउडुसैन गाविसको अँगांउँपानी स्याउ खेतीको लागि प्रचुर सम्भावना बोकेको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

लटरम्म स्याउ फल्ने अंगाउँपानीलाई पछिल्लो समयमा त्यहाँका कृषकले स्याउ जोन बनाउन मिमाङ्गजोबो (धेरै मान्छे जम्मा गरेर) कृषि समूह गठन गरेका छन् । मिमाङ्गजोबो कृषि समूहले हालै सामूहिक रुपमा ७३०० स्याउका बोट रोपेका छन् । अंगाउँपानीका ११५ परिवार मिलेर उक्त ठाउँमा गोल्डेन स्याउ रापिएको कृषि समूहका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो ।

‘गत वर्ष स्याउ अत्यधिक थिए, एक बोटबाट दुई क्विन्टल स्याउ फले । बाटो नभएर मार्तडी बजार सम्म पनि पुर्‍याउन सकिएन । गाउँमा खुर्सानीसँग स्याउ साट्नुपरेको छ । स्याउ सित भण्डारण पनि छैन । भण्डारण गर्ने प्रविधि नहुँदा स्याउ फले पनि बजार नपाइने होकी भन्ने पिरलो गुरुङको छ ।

बुढिनन्दा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष मान बहादुर रावतका अनुसार कृषि ज्ञानकेन्द्र बाजुराको पचास प्रतिशत अनुदान सहयोगमा २५ हेक्टर बाँझो जमिन सदुपयोग गरेर सामूहिक स्याउ खेती गरेका छन् । वडामा पढेलेखेका कम छन् । पेट पाल्नकै लागि भारत तथा वैदेशिक रोजगारीमा गएका छन् । भोटे जनजातिको पुरानो पेशा भेडापालन पनि सङ्कटमा छ । ९ नम्बर वडामा रोजगारको सङ्ख्या पनि अत्यन्त न्युन छ । कृषकको जीविकोपार्जनको प्रमुख श्रोत खेती किसानी हो । सबैलाई समेटेर बाँझो जग्गा प्लटिङ गरी सामूहिक स्याउ खेती गर्न थालेका छन् । खाल्डो खनेबापत एक सय रुपैंया र मलबापत प्रति डोका रु. १५ रुपैंया कृषकले पाउँछ । प्लटिङ जमिनमा स्याउ रोपेपछि घेरवार गरिँदै छ । घेरबारका लागि नगरपालिका र वडा कार्यालयको अनुदान दिने गरिएको वडाध्यक्ष रावतको भनाई छ ।

मिमाङ्गजोबो स्याउ खेतीले एकै ठाउँमा स्याउ फलाउन मद्दत त हुन्छ नै यसले सामूहिक एकताको सन्देश पनि दिएको छ । एउटै समुदाय भित्रका मान्छे पनि एक आपसमा नमिलेको परिप्रेक्ष्यमा अंगाउपानीमा भोटे जनजाति, क्षेत्री र दलित समुदायको बस्ती छ । जाति, धर्म भेषभुषा अलग भए पनि व्यावसायिकतामा एकरूप रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाजुराले “फलफूल रोपौँ, कृषि पेनसेन कार्यक्रममा सहभागी हौँ” भन्ने उद्देश्यले अगाउँपानीमा सात हजार तिन सय स्याउका बोट दिएको छ । आगामी वर्ष ७७०० बोट दिएर पन्ध्र हजार बोट पुर्‍याइने कृषि ज्ञान केन्द्रका प्रमुख मिनराज जैशीले बताउनुभयो ।

अँगाउपानीमा स्याउ संरक्षण गरी फलाउन सके एक बोटबाट कम्तीमा तिस केजी स्याउ फले पनि वर्षमा ४५०० क्विन्टल स्याउ फल्छन् । प्रति केजी सयमा बिक्री गरेपनि कृषकले घरमै बसेर वर्षमा चार करोड पचास लाख रुपैंयाको स्याउ बिक्री गर्न सक्छन् । मार्तडी‐कोल्टी कुवाडी मुल सडकसँग जोडिएको मिमाङ्गजोबो स्याउ बगैँचा कृषि पर्यटनबाट पनि लाभ लिन सकिने छ ।

‘फलफूल तथा तरकारी खेतीमा आत्मनिर्भर बनाउने हो भने बाजुरा गरिबी र अभावको हैन, कृषिमा अवसर र सम्भावनाको जिल्ला हो ।’ प्रमुख जैशीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button