तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरी जिल्ला स्तरीय टी-२० क्रिकेट : पाँचपोखरी र ह्योल्मो–११ फाइनलमा

सिन्धुपाल्चोक । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।

मुलपानी क्रिकेट रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो । सार्थक धितालको अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्लेयर अफ द म्याच चुनिएका सार्थकले ब्याटिङतर्फ अर्धशतक प्रहार गरेपछि पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । सार्थकले घातक बलिङ गरेपछि जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रन जोड्दै अलआउट भयो ।

त्यसअघि ह्योल्मो–११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ११ बजे मुलपानी क्रिकेट रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button