तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा ४५ हजार विद्युत् मिटर निःशुल्क वितरण

जनकपुरधाम । मधेश प्रदेशमा शत प्रतिशत विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणको मधेश प्रदेशको कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेश प्रदेशका जिल्लाहरूका कुनै क्षेत्रमा यदि विद्युतीकरण भएको छैन भने सात दिनभित्रमा प्राधिकरणले विद्युतीकरण गर्ने प्रतिबद्धता प्रादेशिक कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले व्यक्त गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको ‘दिगो ऊर्जा चुनौती कोषको अनुभव तथा सिकाई अनुदान प्रदान कार्यक्रम’मा ठाकुरले विद्युतीकरण गर्न नसक्ने गरिब परिवारलाई प्राधिकरणले निःशुल्क रुपमा विद्युत् जडान गरिदिएको बताउनुभयो ।

मधेश प्रदेशमा गरिबीको रेखामुनि रहेका र शुल्क तिरेर मिटर जडान गर्ने अवस्थामा नभएका ४५ हजार घर परिवारलाई प्राधिकरणले निःशुल्क रुपमा विद्युत् मिटर वितरण गरेको जानकारी उहाँले दिनुभयो । यसका साथै प्रदेशबाट एक वर्षको अवधिमा विद्युत् उपभोग गरे बापत २२ अर्ब शुल्क असुल उपर गरेको प्रादेशिक प्रमुख ठाकुरले बताउनुभयो ।

मधेश प्रदेशका जिल्लाहरूमा रहेको २० प्रतिशत विद्युत् चुहावटलाई अहिले नियन्त्रणमा लिँदै १३ प्रतिशतमा झार्ने काम भएको प्रादेशिक प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button