तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार गर्दिनँ, अरूले गरे सहन्न’

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आज यहाँ आयोजित समारोहका वक्ताले भ्रष्टाचार नियन्त्रणका लागि ‘म भ्रष्टाचार गर्दिन, अरूले गरे सहन्न’ भन्ने भनाइको मर्म र भावनालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् ।

समाजमा भ्रष्टाचार व्याप्त भएका कारण सरकारका प्रतिनिधि र कर्मचारीप्रति नागरिकमा नकारात्मक धारणा सिर्जना भएको भन्दै उनीहरूले अख्तियारको दुरुपयोग रोक्न पहिले सोच, संस्कार र व्यवहार बदल्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सदाचार प्रवर्द्धनमा सबैको योगदान आवश्यक भएको बताउनुभयो । आयोगमा परेका उजुरीको समयमै छानबिन गरी दोषीमाथि कारबाही गरेमा आयोगप्रतिको जनविश्वास अझ बढेर जाने प्रमुख सचिव बस्नेतले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हरेक कर्मचारीको सोचमा परिवर्तन हुनुपर्ने बताउनुभयो । सुशासन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोगको पोखरा कार्यालयका प्रमुख अस्मान गुरुङले प्रशासनिक र राजनीतिक क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको बताउनुभयो ।

त्यस अवसरमा आयोग कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता विजेतालाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने प्रकाश मावि, म्याग्दीकी रिया श्रेष्ठले रु १५ हजार, शीतलादेवी सामुदायिक विद्यालय, पोखराका अर्मान गिरीले द्वितीय स्थान हासिल गरी रु १२ हजार र तृतीय भएका नेपाल पुलिस स्कुल तनहुँका वर्षा आचार्यले रु १० हजार पुरस्कार प्राप्त गरेको कार्यालयका सूचना अधिकारी जगदिशचन्द्र शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button