तपाईँ सुन्दै हुनुहुन्छः

सुर्यनगर गोल्डकप माघ २९ गतेदेखी

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशिको ८ औँ संस्करणको सुर्यनगर गोल्डकप माघ २९ गतेबाट सुरु हुने भएको छ ।

पश्चिम् नवलपरासीको वडा नम्बर १६ मा रहेको नव युवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सुर्यनगर गोल्डकप सञ्चालन हुँदै आएको छ । यस पटकको प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगर क्षेत्रमा आधुनिक खेल मैदानको रुपमा सुर्यनगर रङ्गशालालाई अगाडी बढाउँदै लगिएको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि समेत नगरले विभिन्न विधागत खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

सुर्यनगर गोल्डकपले नगरसँगै समग्र जिल्लालाई नै परिचित बनाउन सफल भएको वडाध्यक्ष भीमकाजी गुरुङले बताउनुभयो । सुर्यनगर गोल्डकप बर्दघाट नगरको चिनारीसँग जोडिएको उहाँले बताउनुभयो ।

ए डिभिजन लिगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने उक्त फुटबल प्रतियोगिताका सञ्चालनका लागी झन्डै ५० लाख रकम लाग्ने क्लबका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाको १० लाख र अन्य रकम व्यवसायी, स्थानीय, सङ्घ-संस्थाबाट सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रथम हुने टिमले नगद ५ लाख र द्वितीय हुने टिमले रु तिन लाख हात पार्ने छन् । १५ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

फागुन ७ गते प्रतियोगिताको समापन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button