तपाईँ सुन्दै हुनुहुन्छः

किएभले युद्धबन्दी बोकेको विमान खसालेको रुसको आरोप

मस्को ।  रुसले बुधबार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य यातायात विमान खसालेको आरोप लगाएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । 

सामाजिक सञ्जालमा अप्रमाणित भिडियोमा कथितरूपमा रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा ठूलो विमान आगो लागेर दुर्घटनाग्रस्त हुनुभन्दा पहिला आकाशबाट खस्दै गरेको देखिन्छ । 

रुसको रक्षा मन्त्रालयले आइएल–७६ विमानले रुसको आक्रमणमा समातिएका ६५ युक्रेनी सैनिक, छ चालक दल र तीन एस्कर्टलाई लैजाँदै गरेको जनाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले यातायात विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले उक्त घटनालाई ‘आतङ्कवादी काम’ भनेको छ । 

युद्धबन्दीहरूसँग सम्बन्धित मुद्दाहरूका लागि जिम्मेबार एक युक्रेनी सरकारी निकायले दावीहरूको अनुसन्धान गरिरहेको जनाएको छ । एएफपीले स्वतन्त्ररूपमा रुसी दावीको पुष्टि गर्न सकेको छैन तर यस घटनाले पछिल्ला केही सातामा पूर्णस्तरीय युद्धको सबैभन्दा घातक प्रकरणहरूमध्ये एकलाई प्रतिनिधित्व गर्नेछ । 

रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो । “स्थापित अभ्यासअनुसार आदानप्रदान गरिने युक्रेनी सैनिकहरूलाई आज सैन्य यातायात विमानमार्फत बेलगोरोड विमानस्थलमा लगिँदैछ भन्ने युक्रेनी नेतृत्वलाई राम्रोसँग थाहा थियो”, मन्त्रालयले भनेको छ । 

यसबारे किएभको कुनै प्रतिक्रिया आएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो । 

बन्दीहरूको आदानप्रदानका लागि जिम्मेबार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो । गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले दुर्घटना करिब आठ बजे जिएमटीमा बेलगोरोड क्षेत्रको राजधानीको उत्तरपूर्वमा कोरोचान्स्की जिल्लामा भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार विमानलाई एउटा खेतमा खसालिएको थियो र अनुसन्धानकर्ता र आपत्कालीन सेवाहरू घटनास्थलमा पुग्दा त्यस क्षेत्रलाई बन्द गरिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले टिप्पणी गर्न अस्वीकार गर्नुभयो । उहाँले दुर्घटनाका बारेमा समाचार अहिले पनि आइरहेको र अधिकारीहरूले घटनाको ‘अनुसन्धान गर्ने’ बताउनुभयो । 

रुसी राज्य प्रसारक आरटीका प्रमुखले कथितरूपमा बोर्डमा पक्राउ परेका युक्रेनी सैनिकको सूची प्रकाशित गर्नुभएको छ । युद्धबन्दीहरूको मुद्दा दुवै मुलुकमा संवेदनशील छ । पूर्णस्तरमा शत्रुता भए पनि करिब दुई वर्षअघि युद्ध सुरु भएपछि दुवै पक्ष ४९ बन्दी आदानप्रदान गर्न सफल भएका थिए । 

युक्रेनका अनुसार सर्वसाधारणहित आठ हजारभन्दा धेरै युक्रेनी रुसी बन्दीगृहमा रहेका छन् । सन् २०२२ मा रुस र युक्रेनले एकअर्कामाथि पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा क्रेमलिन नियन्त्रित ओलेनिभ्कामा समातिएका दर्जनौँ युक्रेनी सैनिकलाई राखिने कारागारमा घातक बमबारी गरेको आरोप लगाएका थिए । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button