तपाईँ सुन्दै हुनुहुन्छः

परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई पाँच लाखसम्म कर्जा दिने

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।

नगरपालिकाले एसइई वा सोभन्दा माथिको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच लाख कर्जा दिन लागेको हो ।

नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जेहनदार तथा विपन्न विद्यार्थीलाई एसइई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताउनुभयो । 

स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औँ नगरसभाबाट ऐन समेत पारित भएको जानकारी दिनुहुँदै उहाँले लोपोन्मुख, विपन्न, महिला वर्गहरूको आर्थिक अभावका कारण शिक्षामा पहुँच हुन नसकेकाले यस्तो निर्णय गरेको बताउनुभयो ।

कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ । ऋण लिने विद्यार्थीले माग गर्न वडा समितिमा निवेदन पेस गरि सिफारिस लिनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button