तपाईँ सुन्दै हुनुहुन्छः

घातक हमलालाई लिएर तनावपछि इरान र पाकिस्तानका राजदूतहरू पुनः काम सुरु गर्ने

तेहरान।  इरान र पाकिस्तानले गत साता एकआपसमा घातक हमला गरेपछि बढेको तनावलाई कम गर्न सहमत भएसँगै दुवै मुलुकका राजदूतहरूले आफ्नो काम सुरु गर्ने घोषणा गरेका छन् । 

तेहरान र इस्लामाबादमा विदेश मन्त्रालयहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “दुवै मुलुकका राजदूतहरू जनवरी २६ सम्म आ–आफ्नो पदमा फर्किन सक्ने सहमति भएको छ ।” इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले पनि आफ्ना पाकिस्तानी समकक्षी जलिल अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्नुहुने विज्ञप्तिमा उल्लेख छ । 

जिलानी र अमिर–अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि निर्णयको घोषणा गरिएको हो । इरानले आफ्नो भूमिमा हमला गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा त्यस्तै प्रकारको ‘आतङ्कवादी लक्ष्यहरू’ मा हवाई हमला गरेको थियो । 
तेहरानले हालैका महिनामा इरानमा धेरै घातक हमला गर्ने जिहादी समूह जैश अल–अदललाई लक्षित गरी पाकिस्तामा हमला गरेको बताएको छ । सन् २०१२ मा स्थापना भएको उक्त समूहलाई इरानले ‘आतङ्कवादी’ सङ्गठनका रूपमा कालो सूचीमा राखेको छ । 

कम्तीमा दुई बालबालिकाको मृत्यु हुने गरी भएको इरानी हमलालाई लिएर पाकिस्तानले कडा आलोचना गरेको थियो र उसले तेहरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने इरानका राजदूतलाई इस्लामाबाद आउन रोक लगाएको थियो । तेहरानले बिहीबार पाकिस्तानी हमलामा कम्तीमा नौ जनाको ज्यान गएपछि इस्लामाबादका चार्ज डि अफेयरलाई बोलाएको थियो । 

शुक्रबार जिलानी र अमिर–अब्दुल्लाहियानले फोनमा कुराकानी गर्दै दुवै मुलुकबिच ‘स्थितिलाई कम गर्न’ सहमति व्यक्त गर्नुभयो । गत साता दुवै मुलुकबिच विभाजित बलुचिस्तानको सीमावर्ती इलाकामा दुर्लभ सैन्य कारवाहीहरूले इजराइल–हमास युद्धबाट यसअघि नै भड्किएको क्षेत्रीय तनावलाई बढाएको थियो । 

सिस्तान–बलुचिस्तान शिया बहुल इरानका केही प्रमुख सुन्नी मुस्लिम प्रान्तमध्येको एक हो । उक्त क्षेत्रले सीमापार लागुऔषध तस्करी गिरोह र बलुची जातीय अल्पसङ्ख्यक विद्रोहीहरूका साथै जिहादीहरू संलग्न रहेको लगातार अशान्ति देखेको छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button