तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा रारामा ६ हजार बढी पर्यटक

मुगु I नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको रारामा छ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन्  ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पौष मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५५७  सार्क तथा विदेशी मुलुकबाट  १५६ जना गरी छ महिनामा ६ हजार ७१३  पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षक अधिकृत राजु घिमिरेले ६ महिनामा ६ हजार ७१३ पर्यटकले रारा भ्रमण गरेको बताउनुभयो । 

चालू वर्षको ६ महिना मै  रारा आउने पर्यटकको संख्या वृद्धि हुनु सुखद रहेको पनि अधिकृत घिमिरेले बताउनुभयो  ।

दसैं-तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको निकुञ्जले जनाएको छ।   यो चालु आवको ६  महिनामा पर्यटक सहित अन्य शुल्क,सजाय,जरिवानाबाट निकुञ्जले  करिब २२ लाख १८ हजार राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए  भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक आएका थिए। 

कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन बढ्ने देखिएको हो ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ। हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीहरूले भने सडक र हवाई मार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधन समेत छैनन् ।

भरपर्दो सडक, सुविधा सम्पन्न होटल, नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नु परेको गुनासो सधैँ गर्दै आएका छन्  । यो जाडो मौसममा पनि रारा आउने पर्यटकको सङ्ख्या बढेको देखिन्छ । यो बेला रारा क्षेत्रको  तापक्रम रातिमा माइनस ८  र बिहान दिउँसो माइनस ५ सम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावल ले बताउनुभयो ।

यति चिसो हुँदा हुँदै पनि विगत वर्षहरूमा वर्षभरि आएका पर्यटन भन्दा बढी पर्यटक चालू वर्षको ६ महिनामा आएकाले यो वर्ष रारामा  पर्यटक १५(१६ हजारसम्म पुग्ने अनुमान गरिएको छ । 

यो वर्ष हिमपात नभएकाले हिउँ परे रारामा हिउँ खेल्न आउने पर्यटकहरू बढ्ने पनि निकुञ्जले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button