तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरि व्यवस्था मिलाइएको हो ।

अहिले बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको छ । यात्रुको चाप अत्यधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनः सम्झौता गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

विमानस्थलको उद्घाटन निजी क्षेत्रको विमानबाट भएको भएतापनी यात्रुको अभाबहुने कारण देखाउँदै प्राइभेट कम्पनीले उडानगर्न नमानेपछि नेपाल वायुसेवा निगम सँग रेसुङ्गा नगरपालिकाले घाटा व्यहोर्ने सम्झौता गरेपछि गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान बाट नियमित उडान सुरु भएको हो ।

विमानस्थलको धावनमार्ग छोटो भएका कारणले १५ सीट क्षमताको सानो ट्वीनेटर विमानले सेवा दिएको छ । यात्रुको चाप बढी भएको तर उडान कम भएकाले अत्यावश्यक कामका यात्रुसमेत सेवाबाट वञ्चित हुनुपरेको जनताको गुनासो रहेको छ ।

हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकांश गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button