तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो दिनको छापामा किर्गिजस्तानद्वारा पत्रकारहरू पक्राउ

किर्गिजस्तान। स्वतन्त्र मिडिया लक्षित छापा मारेको दोस्रो दिन पूर्वसोभियत सङ्घ सदस्य किर्गिजस्तानले मङ्गलबार चार अलग अलग समाचार आउटलेटबाट कम्तीमा १० पत्रकारलाई हिरासतमा लिएको छ । 

अधिकार समूहहरूका अनुसार गिरफ्तारीले किगिजस्तानमा लोकतान्त्रिक पतनको चिन्ताजनक प्रवृत्तिलाई औँल्याएको छ । किर्गिजस्तानले आफ्ना मध्य एसियाली साथीहरूभन्दा धेरै राजनीतिक स्वतन्त्रताको आनन्द लिने गर्दथ्यो ।

पत्रकार बोलोट टेमिरोभले प्रहरीले मङ्गलबार बिहानै आफ्नोसहित धेरै आउटलेटमा छापा मारेको बताउनुभयो । उहाँको युट्युब च्यानल टेमिरोभ लाइभले भ्रष्टाचारविरोधी अनुसन्धान गर्दछ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हाम्रा सम्पूर्ण उपकरण दुई वटा कारमा लिएर लगियो ।”

उहाँकी श्रीमती मखाबतलाई गृह मन्त्रालयलमा सोधपुछका लागि लगिएको छ र उहाँको वकिललाई कुरा गर्न रोक लगाइएको छ । 

पश्चिमी झुकाव भएको पोलिटक्लिनिका समाचार वेबसाइट तथा स्वतन्त्र युट्युब च्यानल एयट डेयट डेसे र अर्चा मिडियासँग सम्बन्धित पत्रकारहरूलाई पनि हिरासतमा लिइएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

मङ्गलबार हिरासतमा लिइएका व्यक्तिहरूले किर्गिज सम्भ्रान्त र राष्ट्रपतिका मानिस संलग्न भएको कथित भ्रष्टाचारलाई कभर गर्ने अनुसन्धानमा काम गरेको रिपोर्टर्स विदआउट बोर्डर्सले बताएको छ । 

“संदिग्ध आरोपहरूमा गिरफ्तारीको यो लहर स्थानीय खोज पत्रकारितालाई समाप्त गर्नु बराबर हो”, उक्त संस्थाले भनेको छ, “भ्रष्टाचारको अनुसन्धान गर्नु कुनै अपराध होइन र सार्वजनिक बलको प्रयोग डराउने–धम्क्याउने औजारका रूपमा गरिनु हुँदैन ।”

अयट डेयट डेसे र टेमिरोभ लाइभलाई सामाजिक सञ्जाल पृष्ठहरूमा ‘सामूहिक दङ्गा’ को आह्वान गर्ने सामग्री फेला परेपछि गिरफ्तार गरिएको गृह मन्त्रालयले बताएको छ । यद्यपि मन्त्रालयले कुनै विवरण भने दिएको छैन । 

किर्गिजस्तानले पछिल्ला दुई वर्षमा धेरै स्वतन्त्र समाचार आउटलेट तथा पत्रकारहरूविरुद्ध आरोप लगाएको छ । यसमा अमेरिकी लगानीको क्लुप मिडिया र रेडियो अजाटिक पनि संलग्न छन् ।

यी गिरफ्तारी प्रहरीले प्रमुख निजी समाचार आउटलेट २४.केजीलाई निशाना बनाउँदै युक्रेन युद्धबारे एक लेखलाई लिएर यसका मुख्य सम्पादक तथा प्रबन्ध निर्देशकलाई हिरासतमा लिएको एक दिनपछि भएका हुन् । गत वर्ष को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा किर्गिजस्तान ५० स्थान तल झरेको छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button