तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै, किसानलाई पिरलो

डोटी  I डोटीमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । 

सिँचाइको पहुँच नभएका तथा आकाशे पानीको भरमा रहेका क्षेत्रमा सुख्खा खडेरीका कारण खेती सुक्न थालेको हो भने कतिपय लेकाली भेगमा सुकिसकेको किसानहरूले बताएका छन् ।  

यस वर्ष लामो समयसम्म हिउँदे वर्षा नभएपछि जिल्लाकै दोस्रो प्रमुख बाली गहुँ, र अन्य जौ, मुसुरो, तोरी खेती सुक्दै जाँदा किसानहरू चिन्तामा डुबेका छन् । खेत नजिक खोला तथा गाडमा पानी हुने क्षेत्रमा पनि दिनानुदिन पानी सुक्दै जाँदा खेतमा सिँचाइ गर्न थप समस्या भएको किसानहरूले बताएका छन् । 

यस वर्ष आकाशे पानीलाई कुर्दाकुर्दै हिउँदे मौसम सकिन लागे पनि सुख्खा खडेरीले हिउँदे बाली सबै सुकेर सत्यानाश भएको पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का गोरख बहादुर ठकुल्लाले बताउनु भएको छ । पानी नपरेपछि हिउँदे खेती जाेगिएन् तर पानी नपर्दा आलु र धानकाे लागि खनजोत गर्न पनि नपाएको ठकुल्लाले बताउनुभयो । उहाँले भन्नुभयो  “अब मेघ आएर के काम गहुँ सुकेर हुरुक्कै भए, बर्खाको खेती लगाउनलाई खनजोत गर्न पनि नपाएपछि यो वर्ष पेट भोको रहने चिन्ता छ ।” 

कृषि ज्ञान केन्द्र डोटीले दिएको तथ्याङ्क अनुसार जिल्लाभर हाल १४ हजार २ सय १९ हेक्टर जमिन आकाशे पानीको भरमा रहेको छ । त्यस्तै १४ हजार २ सय ९० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको प्राप्त सूचनामा उल्लेख छ । यसरी तथ्याङ्कलाई तुलना गर्दा जिल्लामा हाल आंशिक र पूर्ण गरी ११ हजार २ सय ८१ हेक्टर जमिन मात्रै सिँचित रहेको छ । 

कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार यस वर्ष हिउँदे वर्षा नभएका कारण गहुँ तथा हिउँदे खेतीको उत्पादकत्व ह्वात्तै घट्ने बताउनुभयो। सिँचाइ भएको क्षेत्रमा गहुँ तथा हिउँदे बाली जोगिए पनि लेकाली तथा सिँचाइको पहुँच नभएका क्षेत्रमा माघ महिना भित्र आकाशे पानी नपरेपछि सुख्खा खडेरीका कारण हिउँदे बाली घट्ने आकलन गरेको निमित्त अवस्थीले बताउनुभयो ।

गत वर्ष डोटीमा २३ हजार ८ सय ९८ मेट्रिकटन गहुँ उत्पादन भएको थियो भने यस वर्ष समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान कृषि ज्ञान केन्द्र डोटीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button