तपाईँ सुन्दै हुनुहुन्छः

काम गरेर सरकारप्रति जनताको विश्वास बढाइन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको आशा र भरोसा जगाउने गरि यो सरकारले काम गर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरीस्थित पकलिमा जलन वर्न अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा आज आयोजित मन्त्रालय र जनस्वास्थ्य सराेकार ट्रष्टबीच द्धिपक्षिय सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा उहाँले यो सरकारले बोलेर जनतालाई आश देखाउने मात्र होइन काम गरेर सरकारप्रति जनताको विश्वास बढाउने बताउनुभयो ।

काठमाडौँ बाहिर जलन अस्पताल नहुँदा मोरङका उर्लाबारी तथा विराटनगरमा भएको आगलागीमा परी जलेकाहरूले जलनसम्बन्धी उपचार समयमा नपाएको उहाँको भनाई थियो ।

मुख्यमन्त्री कार्कीले इटहरीमा जलन अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको बताउँदै पैसाको अभावमा अस्पतालको निर्माण काम नरोकिने प्रष्ट पार्नुभयो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले जलन अस्पतालको निर्माण हुने विषय कोशी प्रदेशका आम जनताका लागि खुसीको कुरा भएकाले अस्पतालको निर्माण कार्य समयमा सम्पन्न हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य सरोकार ट्रष्टका कार्यकारी निर्देशक गौरी प्रधानले आम नागरिकको स्वास्थ्य अधिकारमा पहुँच हुनुपर्नेमा जोड दिँदै सातवटै प्रदेशमा यस्ता अस्पताल निमार्ण हुनुपर्ने बताउनुभयो  ।

इटहरी उप–महानगरपालिका पकलिस्थित भवानी चौकमा निमार्ण हुन लागेको सो अस्पतालको निर्माण कार्य तीन वर्ष भित्रमा सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ  ।

४० करोड रुपैयाँको लागतमा १ सय शय्याको सो अस्पताल निर्माण हुने र अस्पतालमा ५० बेड जलनसम्बन्धी उपचारका लागि तथा ५० बेड जनरल उपचारको रहने ट्रष्टका संयोजक कैलाश श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गर्दै पहिलो चरणमा तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिने सम्झौता गरेको छ ।

ट्रष्टले सात वर्ष अघि खरिद गरेको २ बिगाहा १० कट्ठा जग्गामा अस्पताल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button