तपाईँ सुन्दै हुनुहुन्छः

मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

काठमाडौँ । समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्त रुपमा तयार पार्नुभएको काव्यकृति ‘आमा’ आज लोकार्पण गरिएको छ ।

आज यहाँ नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले कृतिको लोकार्पण गर्नुभएको हो । माथेमाले उक्त काव्य कृतिमा प्राकृतिक विम्ब समावेश भएकाले पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै विद्यार्थीमा साहित्यसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

जम्मा ७९ पेजमा तयार गरिएको उक्त पुस्तकमा तीन कविहरूले तीन खण्डमा आमा शीर्षकका कविता लेख्नुभएको छ । पुस्तकको मूल्य रु दुई सय ५० निर्धारण गरिएको छ ।

उक्त पुस्तकका लेखक एवं कवि तीर्थ श्रेष्ठले संसारमा सबैभन्दा बढी बोलिने, खर्च गरिने र प्रिय शब्द आमा भएकाले यस शीर्षकमा लेख्नका लागि आफू कहिल्यै नथाक्ने बताउनुभयो । त्यस्तै अर्का लेखक शिव गौतमले आमाको स्पर्श र अभाव साथैसाथै रहिरहने बताउनुभयो ।

सो अवसरमा कवि मञ्जुल, गौतम र श्रेष्ठको कवितामा सरल भाषामा लेखिएका गहन अनुभूति र विचार पाइने भएकाले आफूसहित तीनै जना मिलेर संयुक्त रुपमा काव्यकृति तयार पारी सार्वजनिक गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button