तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का 

सुर्खेत I उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताउनु भएको  छ ।

‘ब्याक टू लाईफ’को सहयोग, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिवार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।” उहाँले ब्याक टू लाईफ संस्था र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्‍याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । 

शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा.चन्द्रमणि अधिकारीले मुटु रोगीहरूको निःशुल्क उपचार गरिने ठुलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताउनुभयो । मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले काठमाडौँ पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठुलो सहयोग पुर्‍याएको जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button