तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल फेला

झेङझोउ।  मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ । यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै प्रकारको सबैभन्दा पुरानो कलाकृति उपलब्ध भएको छ । 

सानो मुख र चुच्चो फेद भएका असामान्य आकारका बोतलहरू याङसाओ संस्कृतिको प्रतिनिधि कलाकृतिहरूमध्येको एक हो यी घरका स्थान, खरानीका खाडल र गाड्ने स्थानमा फेला परेका छन् । पानी ल्याउने भाँडा, मदिरा बनाउने कन्टेनर वा गाड्ने वस्तु मानिने गरी तिनीहरूको कार्यसम्बन्धमा विभिन्न राय आएका छन् । 

चाइनिज एकेडेमी अफ सोसल साइन्सेसको पुरातत्व संस्थाक सहयोगी शोधार्थी ली योङकियाङका अनुसार नयाँ पत्ता लागेको बोतलको उमेर करिब सात हजार सात सय वर्ष पुरानो भएको प्रारम्भिक अनुमान छ । यो १० सेन्टिमिटरभन्दा लामो, अधिक कम्प्याक्ट र याङसाओ संस्कृतिकालको सामान्यरूपमा देखिने सानो मुख, चुच्चो फेद भएको बोतलहरूको तुलनामा अत्यन्त सानो छ । 

पाँच हजारदेखि सात हजार वर्ष पुरानो याङसाओ संस्कृति पहेँलो नदीको मध्यभागमा उत्पन्न भएको नवपाषाण संस्कृति थियो । “यो खोजले पेइलिगाङ संस्कृति र याङसाओ संस्कृतिबीच उत्पत्ति र विकास सम्बन्धको अन्वेषण गर्न ताजा र महत्त्वपूर्ण प्रमाण प्रदान गर्दछ”, लीले भन्नुभयो । 

लीका अनुसार पछिल्लो खोजले पेइलिगाङ साइटका बासिन्दाहरूले मदिरा बनाउनका लागि रातो मर्चाको प्रयोग कसरी गर्ने भन्नेबार पहिला नै सिकेका थिए । नयाँ पत्ता लागेको बोतल सम्भवतः मर्चा बनाउनका लागि पूर्वजहरूले प्रयोग गर्ने कन्टेनर हुनसक्छ । 

यसका साथै पुरातत्वविद्हरूले पेइलिगाङ स्थलमा ठूलो सङ्ख्यामा पूरापाषाणकालीन ढुङ्गाका कलाकृति, सुतुरमुर्गका अन्डाका टुक्राहरू, रातो फलामका टुक्राहरू र अन्य वस्तुहरू फेला पारेका छन् । यो खोजले मध्य मैदानी क्षेत्रमा उत्तर पाषाणकालीन सामाजिक परिदृश्य र पूरापाषाणकालदेखि नवपाषाणकालमा सङ्क्रमणजस्ता प्रमुख विषयको अध्ययनका लागि नयाँ सामग्री प्रदान गर्दछ । 

करिब सात हजार छ सय देखि आठ हजार वर्ष पुरानो पेइलिगाङ स्थल ५० हजारदेखि ६० हजार वर्गमिटर क्षेत्रफल भएको एउटा सामान्य कृषि बस्ती हो । यो चिनियाँ कृषि सभ्यताको जन्मस्थानका रूपमा प्रसिद्ध छ । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button