तपाईँ सुन्दै हुनुहुन्छः

नाम मात्रको कमल पोखरी, न पानी छ,  न देखिन्छ फुल नै 

दाङ । तुलसीपुर-६ रजौराका स्थानीयले ६०-६५ वर्षअघि मान्छे र गाईबस्तुले पानी पिउनको जोहो गर्नलाई दुई वटा छुट्टाछुट्टै पोखरी निर्माण गरेका थिए । मानिस र गाईबस्तुका लागि पानीको अभावलाई कम गर्न स्थानीयले पोखरी निर्माण गरेका थिए ।

निर्माण गरेका पोखरीमा कुलोबाट पानी खन्याउनु पर्थ्यो । सोही पानीले स्थानीयले पानीको जोहो गर्थे भने अर्को पोखरीबाट गाई बस्तुलाई दैनिक रुपमा पानी खुवाउने गर्थे । रजौरा क्षेत्रमा पानीको अभाव हुने भएपछि पोखरी निर्माण गरिएको थियो ।

 अहिले सोही पोखरीलाई कमल पोखरीका रुपमा चिन्ने गरिन्छ । मानिस र गाईबस्तुका लागि पानीको जोहो टारेको सोही पोखरी अहिले सङ्कटमा पुगेको छ । पानीको गर्जो टार्नलाई निर्माण गरिएका पोखरीमा कमल फुल फुल्न थालेपछि कमल पोखरी नामाकरण गरिएको थियो । स्थानीय दिपक न्यौपानेले कमल पोखरीमा २०४४ सालसम्म रातो प्रजातीको कमलका फुल फुलेको देखेको बताउनुभयो ।

पोखरीमा भएका कमल फुलका फल र जरा लिएर मान्छेहरूले औषधीका प्रयोग गर्थे । आफ्नो परिवारले पनि कमल फुलका फल र जरा राखेको न्यौपानेले स्मरण गर्नुभयो । २०४४ सालपछि गोविन्द रजौरे वडाध्यक्ष भएको समयमा पोखरी गहिरो गराउने क्रममा कमल फुलको विनाश भएको न्यौपानेले जानकारी दिनुभयो ।

पोखरीमा भएका कमलका फुल विनाश भएको लामो समयपछि अहिले पोखरीमा पानी समेत भेट्टाउन गाह्रो छ ।  २०७४ सालसम्म कमलपोखरीमा पानी डमक्कै थियो । पोखरीको विकास गर्न भन्दै पानी निकालेपछि कमल पोखरीमा पानीको थोपा देखिन छोडेको करिब ६ वर्ष पुग्यो । 

मान्छे र गाई बस्तुका लागि निर्माण गरिएको कमल पोखरीको बिकास त हुन थालेको छ । बिकास निर्माणका कार्य सुरु भए पनि कमल फुल र पानी नहुँदा पोखरीले अस्तित्व फर्किने मिति कुरिरहेको छ ।

पोखरीको विकासका लागि तुलसीपुर उपमहानगरपालिका, प्रदेश सरकार अन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र युएसएआइडीले लगानी गरेका छन् । हालसम्म तुलसीपुरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयले ४६ लाख ५४ हजार ३५२ र युएसएआइडीले भ्याटसहित ८० लाख ५ हजार ६०१ रुपैयाँ लगानी गरेका छन् ।

तीन निकायको एक करोड ५१ लाख ५९ हजार ९५३ रुपैयाँले पोखरीको भित्री वाल, भ¥याङ, वालको प्लास्टर, कम्पाउण्ड, पर्खाल, कमल फुल र फुटपाथ निर्माण गरिएको छ । कमल पोखरीका लागि अझै धेरै काम बाँकी रहेको स्थानीयको भनाई छ ।  

तुलसीपुर उपमहानगरपालिकाको बजेटको काम स्थानीय उपभोक्ता समिति मार्फत् भएको स्थानीय दिपक न्यौपानेले जानकारी दिनुभयो । यसबाहेक युएसएआइडी र प्रदेश सरकारको बजेट निर्माण कम्पनीले गरेका हुन् ।

युएसएआइडीको बजेट मार्फत् लोकमणी विल्डर्स घोराहीले काम गरेको इन्जिनियर कमल थापाले जानकारी दिनुभयो । प्रदेश सरकार मार्फत् भएको काम भने टिके इञ्जीनियरिङ कन्स्ट्रक्सन सम्लायर्सले गरेको थियो ।   

कमल पोखरीका लागि एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लास्टर, बत्ती जडान जस्ता धेरै काम गर्न बाँकी रहेको छ । यसका लागि करिब दुई करोड बजेट आवश्यक पर्ने स्थानीयको पूर्वानुमान छ ।

कमल पोखरीको पुनःनिर्माण कार्य सम्पन्न भएमा तुलसीपुरक्षेत्रको अर्को प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास हुने स्थानीय दिपक न्यौपानेको भनाई छ । स्थानीयले कमल पोखरी टोल विकास संस्थाले पोखरीको संरक्षण गर्दै आएको छ । पूर्ण रुपमा पोखरीलाई सञ्चालन गर्न सकेमा रजौराक्षेत्रमा चहलपहल बढ्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button