तपाईँ सुन्दै हुनुहुन्छः

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताउनुभएको छ ।

नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने रु त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’

थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्डको आयात रोकिएपछि उद्योग नै नेपाल आएको उहाँले बताउनुभयो । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ’– मन्त्री डा. महतको भनाइ थियो ।

‘राजश्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौँ । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button