तपाईँ सुन्दै हुनुहुन्छः

कोशी राजमार्ग अवरुद्ध

धनकुटा ।  शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।  शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको हो। 

ओरालो बाटोमा ब्रेक फेल भएको टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौँ सवारी साधन रोकिएर बसेका छन् । टिपर हटाएर सडक खुलाउन क्रेन मगाइएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो। 

प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भएर र अर्को नम्बर नखुलेको टिपरसँग ठोकिएर सडकमा पल्टँदासँगै रहेको पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिबार साँझ ठक्कर दिएको थियो। दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको हो।

सङ्खुवासभाबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपरले साँझ ठक्कर दिएको हो । टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगे पनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो। दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटना भएको ठाउँमा केही दिनअघिदेखि सडकको भित्तामा एक टिपर पल्टिएर रहेको बसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button