तपाईँ सुन्दै हुनुहुन्छः

आईसिपीलाई सुख्खा बन्दरगाह बनाउन मन्त्री ज्वालासमक्ष ध्यानाकर्षण

बाँके । नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ । नेपालगञ्जका अगुवा उद्योगी व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष सुख्खा बन्दरगाह आवश्यक भएकाले ध्यानाकर्षण गराउनुभएको हो ।  

अगुवा उद्योगी व्यवसायीहरू पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ र सञ्जय अग्रवालले एकीकृत जाँच चौकीको निर्माणको अवस्थादेखि नै सुख्खा बन्दरको आम बुझाइ रहेको भन्दै त्यसका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभयो । अगुवा व्यवसायी मिश्रले भन्नुभयो, ‘नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्दा पश्चिम नेपालको वैदेशिक व्यापारमा ठुलो फड्को मार्ने निश्चित छ ।’

एकीकृत भन्सार चौकीमा सुख्खा बन्दरगाहका लागि आवश्यक सम्पूर्ण पूर्वाधार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । भारत सरकारले नेपालगञ्जसँग जोडिने गरि भारततर्फ रेलवे पूर्वाधारमा समेत ठुलो लगानी गरेकाले नेपाली व्यवसायीहरूले सुख्खा बन्दरगाहको माग गरेका हुन् ।

भारतले बहराइच–नानपारा–नेपालगञ्ज रोडको ब्रोडग्रेज लाइन निर्माणका लागि  तीन अर्ब ४२ करोड रुपियाँ विनियोजन गरेपछि रेल्वे लिङ्कसमेत सहज तरिकाले जोडिने भएकाले सुख्खा बन्दरगाह निर्माण गर्न व्यवसायीहरूले माग गरेका हुन् ।

हालको लिङ्क रोड एकीकृत भन्सार चौकीबाट दुई किलोमिटरको दूरीमा रहेकाले नेपाल सरकारले भारतीय पक्षसँग पहल गरि सिधै आईसिपीसँग जोडेर सुख्खा बन्दरगाह निर्माण गर्न सकिने सुझाव व्यवसायीहरूको छ । सो अवसरमा मन्त्री ज्वालाले व्यवसायीको मागका विषयमा मन्त्रालय गम्भीर भएको बताउँदै “आईसिपीलाई सुख्खा बन्दरगाह बनाउने माग सही भएको र मन्त्रालयले यसलाई सकारात्मक रुपमा लिएको बताउनु भएको छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button